अत्यावश्यक निदान सूची (National Essential In-vitro Diagnostics List (NEIDL))
- पृष्ठभूमि
नेपाली जनतालाई गुणस्तरीय प्रयोगशाला सेवा प्रदान गर्दै रोगको निदान सम्बन्धी उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने दूरदृष्टिका साथ यस प्रयोगशालाबाट विभिन्न कार्यक्रमहरु संचालन हुदै आएका छन् । प्रयोगशाला परीक्षणहरुको विश्वसनीयता लेखाजोखा तथा गुणस्तर सुनिश्चितका लागि (National External Quality Assurance Scheme (NEQAS), प्रयोगशाला सम्बन्धी संजाल निर्माण, इजाजतपत्र, अनुगमन, पर्यवेक्षण, क्षमता विकास एवं सुदृढीकरण र अनुसन्धान यसका प्रमुख कार्यहरु हुन् । यी कार्यहरुका लागि यस कार्यालयले आवश्यकता अनुसार प्रयोगशाला सम्बन्धी गुणस्तर एवम् तथा मापदण्ड निर्धारण, अनुगमन लगायतका विषयमा आवश्यक निर्देशिका, कार्यविधि तयार गरी सम्बन्धित तालुक निकायबाट स्वीकृत गराइ कार्यान्वयनमा ल्याउने गरेको छ ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । उक्त हकको कार्यान्वयनका लागि नेपाल सरकारले सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच एवं उपभोगलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रमहरु तर्जुमा एवं कार्यन्वयन गरिआएको छ । गुणस्तरीय स्वास्थ्यको लक्ष्य प्राप्त गर्न रोगहरुको निदानात्मक परिक्षणको सुविधा आवश्यक पर्दछ । सोको लागि स्थान विशेषमा देखा पर्ने रोगहरुको पहिचान गरी सो बमोजिम उक्त क्षेत्रमा प्रयोगशालाहरुको सुविधा उपलब्ध गराइ निदानात्मक परिक्षणलाई प्रोत्साहित गर्नु पर्ने हुन्छ । यस प्रकारका निदानात्मक परिक्षणहरु ( Tests ) ले गुणस्तरीय स्वास्थ्यसेवा एवं अत्यावश्यक औषधिहरु उचित मात्रामा प्रयोग, महामारी/ प्रकोपको नियन्त्रण र एण्टिमाइक्रोबियल प्रतिरोध एवं महामारी (antimicrobial resistance and pandemics) सम्बन्धी निगरानी प्रणाली (surveillance systems) लाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान दिन्छ । यस कार्यका लागि अत्यावश्यक परिक्षणको सूची (NEIDL) एक महत्वपूर्ण अंगको रुपमा रहेको छ । यसै विषयलाई मध्यनजर राख्दै विश्व स्वास्थ्य संगठनले सन् २०१८मा रोगहरुको सबैभन्दा सामान्य अवस्थाहरूको निदान गर्न आवश्यक परीक्षणहरूको सूची र विश्वव्यापी प्राथमिकताका रोगहरूको संख्या सहितको इनभिट्रो डायग्नोस्टिक्सको आवश्यक मोडेल सूची प्रकाशित गरेको छ । उक्त सूचीलाई सन्दर्भ (References) को रुपमा प्रयोग गरी प्रत्येक विकासोन्मुख देशले आफ्नै आवश्यक निदानहरूको आफ्नै सूची NEIDL तयार देशको मितव्ययी ढंगले सो अनुसारको परिक्षण सेवाको उपलब्धता र पहुँचको सुनिश्चितता गर्न सिफारिश गरेको छ ।
नेपालबाट प्रयोगशाला परिक्षणका लागि धेरै संख्यामा नमूनाहरु देश बाहिर जाने गरेको छ । उक्त परिक्षण नेपालभित्र गर्न सकेको अवस्थामा पारिवर्त्य विदेशी मुद्राको ठूलो धनराशी जोगाउन सकिन्छ । नेपालको लागि भौगोलिक क्षेत्र हिमाल पहाड र तराइका पूर्वी, मध्य एवं पश्चिमी भागमा बसोबास गर्ने व्यक्तिहरुमध्ये लिंग, समुदाय, उमेर समूह समेतका आधारमा देखा परेका रोगहरुको अध्ययनका आधारमा ती क्षेत्र अन्तर्गतका कुन कुन स्थान र तहमा स्थापना हुने प्रयोगशालाहरुले कुन कुन रोगहरुको परीक्षण गराउने र कुन कुन विधि अवलम्बन गर्ने गरी पूर्वाधार तयार गर्नु पर्ने हुन्छ भनी एकीन गर्न न्यूनतम परीक्षणको अत्यावश्यक निदानात्मक सूची (NEIDL) तयार गर्नु पर्ने आवश्यकता छ ।
यस सन्दर्भमा चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा बजेट विनियोजन गरिएको हुँदा उक्त कार्य परामर्श सेवा मार्फत सम्पन्न गर्न यो कार्यक्षेत्रगत विवरण सम्बन्धी प्रस्ताव तयार पारिएको छ ।
- उद्देश्य
नेपालको भौगोलिक क्षेत्रमा हुने रोगहरुको समेत अध्ययन गरी विभिन्न तहका प्रयोगशालाहरुले गर्नु पर्ने परीक्षण एवं सोको विधि समेत उल्लेख गरी निदानात्मक परिक्षणको अत्यावश्यक सूची (NEIDL) तयार गर्ने ।
- NEIDL निर्माण विधि
- परामर्शदाताले सम्बन्धित सरकारी पदाधिकारीहरु, क्लिनिसियन, प्रयोगशाला विज्ञहरु, जनस्वास्थ्य विज्ञहरु, प्रयोगशाला सामग्री आपूर्तिकर्ता लगायत अन्य सरोकारवालाहरुहरुसंग नेपालमा देखा परेका विभिन्न प्रकारका रोगहरु, तिनीहरुको उपचार विधि र नेपालमा त्यस प्रकारका परिक्षणको उपलब्धताका विषयमा राय सुझाव संकलन गर्ने ।
- राष्ट्रिय जनस्वास्थ प्रयोगशालाबाट गठित प्राविधिक कार्यसमूहसंग आवश्यक समन्वय गर्दै उक्त समूहसंगको सहयोगमा कार्यसम्पादन गर्नु पर्नेछ ।
- नेपालको विभिन्न भौगोलिक क्षेत्रमा रहेका समुदायमा देखा परेका रोगहरु सम्बन्धी सरकारी तथा गैरसरकारी दस्तावेजहरुको अध्ययन गर्ने ।
- नेपालमा सरुवा रोग तथा नसर्ने रोगको भार समीक्षा गर्ने ।
- निदान सुविधा र पहुँचको सन्दर्भमा नेपालमा Universal Health coverage र अत्यावश्यक स्वास्थ्य सेवाहरू (Essential Health Services) मा राष्ट्रिय नीतिहरूको समीक्षा गर्ने ।
- विश्व स्वास्थ्य संगठन तथा अन्य देशहरुको NEIDLको समिक्षा गर्ने ।
- प्रयोगशाला सेवा सम्बन्धी विद्यमान राष्ट्रिय स्तरको मापदण्ड तथा निर्देशिकाहरुको समिक्षा गर्ने ।
- विशिष्ट रोग र एकीकृत रोगका बारेमा सर्भिलेन्स कार्यक्रमहरुको समीक्षा गरी सोसँग सम्वन्धित आवश्यक परिक्षणहरुको पहिचान गर्ने ।
- नेपालको सम्बन्धित भौगोलिक स्थानको भ्रमण समेत गरी स्थान विशेषमा देखिने रोग सम्वन्धी विवरण संकलन गर्ने ।
- परिक्षण गर्नु पर्ने सूचीमा समावेश भएको In-vitro Diagnostic परिक्षणका लागि देशभित्र सो सम्बन्धी उपकरणहरु भए नभएको एकीन गर्ने ।
- सरोकारवालाहरुको पहिचान गरी सोसंग सम्बन्धित परामर्श सेवाहरुको कार्य अगाडी बढाउने सहयोग गर्ने साथै एजेण्डा निर्क्यौल गरी प्रतिवेदन तयार गर्ने ।
- प्राविधिक कार्यसमूहसंग २ वटा तथा प्राविधिक कार्यसमूहका सदस्य सहित कम्तीमा १० जना स्थानीय सरोकारवालासंग २ वटा बैठक राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा राख्ने । बैठकको समय र मिति निर्धारण गर्नु पूर्व परामर्शदाताले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंग आवश्यक समन्वय गर्ने ।
- कार्याशालाबाट आएको पृष्ठपोषणलाई समावेश गरी Pre- Final Draft र सोको पावर प्वाइण्ट प्रजेण्टेशन तयार गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंग समन्वय गरी कुनै एक होटलमा कम्तीमा ३० जना सरोकारवालाहरुको सहभागितामा बैठक आयोजना गर्ने ।
- परामर्शदाताबाट NEIDL निर्माण सम्बन्धी अन्य कार्य तथा शर्त अनुसूची १ मा उल्लेख भए बमोजिम हुनेछ ।
- समयावधि
2078/08/23-2078/11/22
Responsible person
- Dr. Shiva Raj KC
- Mr. Janak Thapa
- Ms. Salina Thapa
Partner: National Public Health Laboratory (NPHL)